“हाम्रो षडानन्द, हामी बनाउँछौँ राम्रो षडानन्द” विशेषांक–०१
नमस्कार !
म नवीनकला जैरु ।
षडानन्द नगरपालिकाको विकास, योजना, गतिविधि तथा जनचासोका विविध विषयवस्तु समेटिएको “हाम्रो षडानन्द, हामी बनाउँछौँ राम्रो षडानन्द” कार्यक्रमको पहिलो शृंखलामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ ।
षडानन्द नगरपालिकासँगको सहकार्यमा रेडियो संखुवासभा ९५.५ मेगाहर्ज तथा बि.एण्ड जि. मल्टिमिडियाद्वारा सञ्चालित “जनगुनासो” यूट्युब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रशारीत कार्यक्रम हो ।
आर्थिक वर्ष २०८२/०८३ को रातो किताबमा समावेश भएका योजना, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामाझ प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको पहिलो शृंखलामा यस आर्थिक वर्षमा सम्पन्न भएका खेलकुद गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौँ । साथै पछिल्लो १५ दिनभित्र षडानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास, सामाजिक तथा अन्य महत्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ ।
..............................
अब लागौँ, कार्यक्रमको मुख्य प्रस्तुतितर्फ...
यस आर्थिक वर्षमा षडानन्द नगरपालिकाको मुख्य प्रायोजन तथा आयोजनामा विभिन्न खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भएका छन् । यहिँ विषयमा हामीले नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष ढाकमान राईसंग जानकारी लिएका छौं ।
पालिकाको मुख्य प्रायोजन तथा वडा नं. १३ र १४ बोयाको संयुक्त आयोजनामा “प्रथम षडानन्द कप खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता” भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिता गत कार्तिक १ गतेदेखि सुरु भई कार्तिक ४ गते वृहत सांस्कृतिक कार्यक्रमसहित समापन गरिएको थियो ।
उक्त प्रतियोगितामा आम्चोक गाउँपालिकाले उपाधि हात पारेको थियो भने पाख्रिवास नगरपालिका उपविजेतामा सीमित भयो । भोजपुर नगरपालिका र षडानन्द नगरपालिका सेमिफाइनल चरणसम्म पुगेका थिए । यस प्रतियोगिताका लागि षडानन्द नगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
त्यसैगरी, पालिकाको आयोजनामा “प्रथम दिङ्ला कप आमन्त्रित अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता” पनि सफलतापूर्वक सम्पन्न भएको छ । दिङ्ला बजारमा गत चैत्र २१ देखि २४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । ६ लाख रुपैयाँ लागतमा सम्पन्न प्रतियोगितामा आमचोक गाउँपालिका विजेता बनेको थियो भने षडानन्द नगरपालिका उपविजेता बनेको थियो । सेमिफाइनलमा सभापोखरी गाउँपालिका र साल्पासिलिछो गाउँपालिका पुगेका थिए ।
यसैगरी, गत असोज ३० गतेदेखि मंसिर ३ गतेसम्म “पाँचौँ खुल्ला पुरुष फुटबल प्रतियोगिता” पनि सम्पन्न भएको छ । वडा खेलकुद विकास समिति वडा नं. ६ को आयोजना तथा षडानन्द नगरपालिका र वडा नं. ६ को प्रायोजनमा सम्पन्न उक्त प्रतियोगितामा बुद्ध एयर विङ्स विजेता बनेको थियो भने ठाकुरपाल स्मृति संस्था उपविजेता बनेको थियो । साङ्पाङ फुटबल क्लब र लाजिम्पाट फुटबल क्लब सेमिफाइनलिष्ट भएका थिए ।
ब्याडमिन्टन खेलतर्फ पालिकाको मुख्य प्रायोजन तथा वडा नं. ४ को सहयोगमा दिङ्ला ब्याडमिन्टन संघद्वारा “९ औँ खुल्ला पुरुष डबल्स तथा बी डिभिजन ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न गरिएको छ । सहिद दिवसको अवसरमा माघ १४ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो ।
त्यसैगरी वडा नं. ४ को प्रायोजन तथा पालिकाको सहयोगमा “प्रथम वडा अध्यक्ष कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता” पनि सम्पन्न भएको छ । उक्त प्रतियोगितामा वडा नं. १२ विजेता र वडा नं. ८ उपविजेता बनेका थिए ।
क्रिकेट खेलमा ऐतिहासिक उपलब्धि स्वरूप षडानन्द नगरपालिकाको मुख्य प्रायोजनमा “प्रथम दिङ्ला क्रिकेट प्रतियोगिता” पहिलो पटक आयोजना गरिएको हो । दिङ्ला क्रिकेट क्लबको आयोजनामा बैशाख ५ देखि ७ गतेसम्म सञ्चालित प्रतियोगितामा धनकुटा क्रिकेट टिम विजेता र दिङ्ला क्रिकेट क्लब उपविजेता बनेका थिए ।
यसैगरी, ऐतिहासिक योगमाया न्यौपानेको समाधिस्थल नजिकै “योगमाया भलिबल प्रतियोगिता” पनि सम्पन्न भएको छ । योगमाया खेलकुद विकास समितिको आयोजना तथा षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा आम्चोक गाउँपालिका विजेता र षडानन्द नगरपालिका उपविजेता बनेका थिए ।
पालिका भित्र अन्य विभिन्न खेलकुद कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न भएका छन् । मितेरी युवा क्लबद्वारा वडा स्तरीय भलिबल प्रतियोगिता, वडा नं. २ मा साविक वडा स्तरीय भलिबल तथा जुनियर उस्सु प्रतियोगिता, साथै वडा नं. ३ खार्तम्छा र वडा नं. ९ किमालुङमा महिला तथा पुरुष भलिबल प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् । पालिकाले खेलकुदमा गरेको लगानी कस्तो रहेको छ भनेर हामीले आयोजकसँग सोधेका थियौं ? सुन्नुहोस दिङ्ला ब्याडमिन्टन संघको अध्यक्ष नरेन्द्र तामाङको भनाई ।
पछिल्लो १५ दिनको अवधिमा पालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत प्लम्बर सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । उक्त तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन् । बैशाख १६ गतेदेखि सुरु भएको तालिम १५ दिनसम्म सञ्चालन हुनेछ ।
................................
“षडानन्द नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै निरन्तर रूपमा विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ । यसले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै युवा पुस्तालाई सकारात्मक दिशामा अघि बढ्न प्रेरणा दिएको छ ।”
यससँगै आजको कार्यक्रम यहीँ समाप्त हुन्छ । आगामी अंकमा थप गतिविधि र विकास योजनासहित पुनः भेट हुनेछौँ । तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसंगै म नवीनकला पनि विदा हुन्छु ।
नमस्कार !
प्रतिक्रिया दिनुहोस्